बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टरको लाठी

 

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।

एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए।प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्‍यो।

त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ।

इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्।

पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो।   

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए।

इन्स्पेक्टर पौडेलले आफूले लाठी प्रहार गरेको स्वीकारेका छन्।

Loading...