उपचार नपाएर सुत्केरीको मृत्यु, पाँचदिने शिशुलाई कसले पिलाउला दुध !

 

मुगु : पाँच दिनअघि सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राप भइ समयमै उपचार नपाउँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल लैजाँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको हो । छायानाथ रारा नगरपालिका—१० जिउला गाउँकी धनरुपा विश्वकर्मा पुस २४ गते घरमै सुत्केरी भइ छोरी जन्माएकी थिइन् ।
तर अत्याधिक रक्तश्रावपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

उनको मृत्युपछि पाँच दिनकी शिशुको बिचल्ली भएको छ । सुत्केरी भएपछि सानलान नझरेपछि उनलाई अत्याधिक रक्तश्राव भएको थियो । सुत्केरीलाई जिल्ला अस्पताल लैजान घरपरिवारले निधो गरे पनि हिमपातले गर्दा जिल्लाको सबै सञ्चार क्षेत्र अवरुद्ध भएकाले घरपरिवारले एम्बुलेन्स खबर गर्न सकेनन् ।

गाउँबाट ३ घण्टा टाढाको जिल्ला अस्पातल बोकेर लैजाँदै गर्दा धनरुपाको मृत्यु भएको छायानाथ रारा नगरपालिका—१० का दलजित बिकले बताए ।

आमाको मृत्युपछि शिशुको बिचल्ली

आमाको स्तनपान गर्न नपाउँदा पाँचदिने शिशुको बिचल्ली भएको छ । आमाको मृत्यु पछि पाँच दिनकी ती शिशुलाई गाउँलेहरुले गाईको दुध र छिमेकी महिलाको दुध पिलाएका छन् ।नवजात शिशुलाई हालसम्म काज किरिया बसेका बाबुले आफैँसँग राखेका छन् । शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाइ भएको बावु रामबहादुर बिकको दुखेसो छ ।

रामबहादुर भन्छन्, "अहिलेसम्म त गाईको दुध पिलाइएको छ । सधैँ कसले खुवाइदेला !" अहिलेसम्म छिमेकी आमाहरुको पनि सहायता लिँदैआएको बताउँछन् उनी । तर पछिसम्म शिशुलाई स्याहार्न मुस्किल हुनेमा चिन्तित छन् ।

Loading...